इरेजरले जीवनका दु:ख–सुख मेट्न सकिन्न : इन्द्रबहादुर राई

काठमाडौँ — इन्द्रबहादुर राई नेपाली साहित्यमा वैचारिक उचाइ राख्ने सिद्धहस्त स्रष्टा हुन् । ‘आज रमिता छ’, ‘बिपना कतिपय’, ‘कठपुतलीको मन’, ‘कथास्था’ लगायतका उपन्यास/कथा कृतिसागै आयामेली र लीला लेखनको खोज राइको सृजनासँग जोडिएका परिचय हुन् । भारतको दार्जीलिङ/सिलिगुढी बस्दै आएका राईको मंगलबार अपरान्ह मात्रै ९० बर्षको उमेरमा दार्जीलिङमा निधन भयो । 

सिंगो जीवन भाषा र साहित्यमा समर्पित गरेपछि यसलाई तपाईं कत्तिको उत्पादक वा अनुत्पादक क्षेत्र मान्नुहुन्छ ?

 

मेरा बुझाइमा हामी सधैं भ्रममा बााचेका हुन्छौं । आखिरमा यो साहित्य के हो र ? एकदिन हामी मरिजान्छौं । मरेपछि मैले यस्तो लेखेको थिएँ भन्ने ज्ञान पनि रहँदैन। व्यर्थैमा अम्बर हुने कुराहरू किन गर्ने ? सधैं यस्तै सोचिरहने हो भने केहीको अर्थ पनि केही लाग्दैन । तैपनि यसलाई ‘सार्थक चिज’ मान्नुपर्छ । बरु ‘भ्रमको पनि सार्थकता हुन्छ है’ भनेर चिन्नुपर्छ, बुझ्नुपर्छ । यो कुरा सबैलाई पढाउनु जरुरी छ । एकजना रेने वेलेक नामका विद्वानको पुस्तक ‘द एट्याक अन लिट्रेचर’मा भनिएको छ— साहित्य समाजका लागि उत्पादक कुरा हो, तर स्वयम् लेखकका लागि भने अनुत्पादक । मलाई पनि यस्तै लाग्छ, समाजको र जीवनको चित्र र चरित्र साहित्यले बाहिर ल्याउने हुँदा यो एकातिर उत्पादक विषय पनि हो । तर हामी लेखकका लागि कुनै बालीनालीझैं उत्पादक कहिल्यै हुन सक्दैन साहित्य ।

 

‘म आफ्नो सिर्जनाको दीयोमा तेल रित्तिएको महसुस हुनेबित्तिकै तेल भर्न नेपाल आउँछु’ भनिरहनुहुन्थ्यो । अहिले के ठान्नुहुन्छ ?

हो, दसगजा काटेर नेपालतर्फ आउँदा उता (दार्जिलिङ) का कुराहरू अलिक टाढा भएजस्तो लाग्छ । फेरि यताका समस्यासँग चिनजान हुन थालेजस्तो हुन्छ । उताका समस्याले हामीलाई यसरी छोपिरहेको हुन्छ, जसबाट हामी भाग्न सकिरहेका हुन्नौं । यता आउँदा भने केही सिक्ने, जान्ने छोटो मौका मिलेजस्तो हुन्छ । यताबाट दार्जिलिङ जाँदा उताका समस्याहरूले फेरि घेरेर ल्याउँछन्, मनमस्तिष्कमा अभ्यस्त कठिनाइहरू घेरिन थाल्छन् ।

 

आजभन्दा ५० वर्षअघि पहिलोपटक नेपाल आउँदा भने यता भिन्नै ठाउँ र भिन्नै समयमा आएजस्तो लाग्थ्यो । त्यसबेला बल गरेर पनि एकअर्काका भिन्नता खोज्नतिर लागिन्थ्यो । अब त के लाग्छ भने हाम्रा भाषा, हाम्रा आवाज, हाम्रा काका–मामा, हाम्रा भँगेरा–काग सबै एकै छन् जस्तो लाग्न थालेको छ । बरु हामी बीचका दु:ख र सुखका खालहरू भने भिन्न छन् । र, यो पनि पक्कै हो कि आफ्नो सिर्जनाको दीयोमा तेल रित्तिएको बेला अहिले पनि नेपाल आउने अथवा यताका सत्संग र विचारको स्मरण गर्ने काम म गरिरहेको हुन्छु ।

 

प्रयोग र सिर्जनाका कुरामा कुनै समयमा कवि बालकृष्ण समले भनेका थिए, ‘आज दार्जिलिङले जे सोच्छ, त्यो भोलिमात्रै नेपालले सोच्छ ।’ तपाईंका विचारमा आजको यथास्थिति के छ ?

हो, त्यसबेला त्यत्तिकै हामीलाई फुक्र्याउन भनिएको थियो कि जस्तो लाग्छ । आज सम्झँदा नेपाल त हामीभन्दा धेरै अघि पुगिसकेको म अनुभव गर्छु । अघि दार्जिलिङले एक–दुई काम गऱ्यो होला, अहिले नेपालले अनेकवटा नयाँ काम गरेको छ, नयाँ बाटो रोजेको छ । सधैं एउटा ठाउँ अघि भइरहने र अर्को ठाउँ पछि भइरहने कुरै छैन । उदाहरणका लागि हामी दार्जिलिङमा अनेक जातजाति र समूह मिसिएको अवस्थामा छौं । हो, हामीलाई स्थितिले त्यस्तो गरायो र हामी मिल्यौं । त्यसरी मिसिएर बसेकाले त्यहाँ नेपाली जातित्वको विकास भयो । यो कुरा नेपालमा भर्खरै सुरु भएको छ, तर विकास हुन बाँकी छ । यसमा दार्जिलिङ पहिलो भएको हो, तर स्थितिलाई पनि भुल्न मिल्दैन । बुद्ध धर्मले भन्छ— सर्त वा अवस्था उब्जिएपछि मात्रै कुनै कार्य सम्भव हुन्छ ।

 

जीवनमा आजभन्दा ५० वर्षअघि गरिएका वा लेखिएका कामहरू आज पुरानाझैं, काम नलाग्नेझैं भएजस्तो लाग्दैन?

होइन, त्यसरी गरिएका कामहरू ‘अर्थहीन’ बनेका छन् भन्ने पक्षमा त म छैन । बरु यत्ति हो कि हामीले प्रयोग गरेका अर्थहरू भने मरेका हुन सक्छन् । समयकालमा लेखकको मृत्युमात्रै होइन, अर्थको पनि मृत्यु हुन्छ । र नयाँ अर्थ जन्मन्छ । लेखनाथले भनेका छन्— ‘चैत्रमा किन हुँदैन धान, तँलाई मालुम छ कि यो कुरा मन’ । अब यसलाई अर्थ लगाएर पढाउनुपर्दा हामी ‘ईश्वरको इच्छाले मात्रै सबै कुरा हुन्छ, ईश्वरको इच्छा हुँदैन भने केही पनि हुन्न’ भनी पढाउँथ्यौं । उनको इच्छा नभई चैतमा धान रोपिन्न भन्थ्यौं, उनको इच्छाविना एउटा पात पनि हल्लिन सक्दैन भन्थ्यौं । तर आजकल अनेक खालका धानका वीउ आएर, सिंचाइ भएर चैतमा पनि धान रोपिन्छ, मंसिरमा पनि रोपिन्छ । अब भने त्यो पुरानो अर्थमा विनिर्माण आएको छ, यसरी अर्थको मृत्यु भएको छ ।

 

लेख्नुभन्दा अगाडि नै कुनै शैली प्रयोगको खाका बन्छ या यो पछि बन्ने कुरा हो ?

यसमा विचार गर्नेहरूले भन्छन्— सिद्धान्त र प्रयोगमा कुन अघि हिंड्छ भन्ने कहिल्यै थाहा हुन्न । अनि कसले कसलाई पछ्याउँछ, यो पनि भन्न नसकिने कुरा हो । जहाँ सिद्धान्तले कुनै कुरा लेख्न सकिन्न, त्यो कुरा प्रयोगले लेख्न सकिन्छ भनेर आजका साहित्यिक चिन्तकले भन्छन् । सिद्धान्तले पनि विश्लेषण गर्न नसकिने कुराहरू कत्ति हुन्छन् । तर ती कुरा प्रयोग र लेखनले भने भनिसकेको हुन्छ । उदाहरणमा, फ्रायडवाद त धेरै पछि आएको कुरा हो । शेक्सपियरका पालामा फ्रायडवादको कुनै कुरा थिएन । तर सिद्धान्तविनै उनले ‘ह्याम्लेट’मा कसरी फ्रायडवाद प्रयोग गरिसकेका रहेछन् भन्ने पछि थाहा भयो । बरु हामीजस्ता साधारण मान्छेका लागि भने अलिक निरापद बाटो भने सिद्धान्तलाई पहिले बुझेर अनिमात्रै प्रयोगमा लाग्नुमा हुन्छ । यसो गर्दा हामी ‘भूलबाटो’मा नपरिएला कि भन्ने हुन्छ । मेरो आफ्नो कुरा गर्दा भने अहिले आएर अनुभव हुन थालेको छ— मैले आफ्ना बारेमा त केही पनि लेखेको रहेनछु । खालि अरूकै भूमिका, अरूकै बारे लेखेर र प्रश्नोत्तर गरेरै मैले समय कटाएको रहेछु । अब केही लेख्छु भन्ने मनमा छ, के लेख्नुपर्ने हो— त्यो पनि मनमा छ, तर अरू काममा अनुरोध गर्नेहरूको चित्त नदुखाई नयाँ काम गर्न भने धेरै गाह्रो छ ।

 

तपाईंको अनुभवमा जीवनमा ‘उमेर’ भन्ने के चिज रहेछ ? तीस वर्षे ऊर्जा र आजको अवस्थामा के अन्तर छ ?

हो, अघि दगुर्दै आएको रफ्तारले गर्दा होला, अहिले पनि झट्टै बिसाउन सकेको भने छैन । अझै पनि अलिअलि हिंड्दैछु, कहिलेसम्म र कहाँसम्म जाने हो, थाहा छैन। पक्कै पनि थकाइको महसुस अलिक हुन थालेको छ । जीवनमा उमेर निकै ठूलो कुरा रहेछ, यो केही पनि होइन भन्न नसकिने रहेछ । अघिअघि उमेर पातलो कमेज लगाएजस्तो हुन्थ्यो, लाएको थाहा पनि नपाइने । अब उमेर अलिक बाक्लो ओभरकोटजस्तो हुन थालेको छ, बोकेर हिंडेको तत्कालै थाहा भइहाल्ने ।

 

उमेरसँगै पुराना कुरा सम्झनुमा कत्तिको फरक हुन्छ ?

पुस्तकतिर हामी पढ्छौं, पुराना कुराहरूलाई पछि फर्केर हेर्दा नयाँ अनुभवका माध्यमबाट हेरिन्छ । पुराना कुराहरूको मूल्य पनि भिन्नभिन्न हुन जान्छ । प्रौढ अवस्थामा निकै सुखी हुन पाइयो भने आफ्नो दु:खपूर्ण बाल्यकाल पनि अलिक सुखपूर्ण देखिन थाल्छ । अझ बुढेसकालमा बढ्तै दु:ख पायौं भने त आफ्नो दु:खपूर्ण बाल्यकालसमेत सुखपूर्ण देखिन थाल्छ रे । तर मचाहिँ अलिकति ढिलो परिवर्तन हुने खालको मानिस रहेछु । ममा अपर्झट दृष्टिको परिवर्तन आएन । सानो उमेरका कुराहरूलाई हेर्दा पहिले जुन मूल्यांकनले हेर्थें, अहिले पनि त्यही मूल्यांकनले हेर्छु जस्तो लाग्छ । जस्तो: अघिअघि बाल्यकालमा आफूलाई मनपर्दा पुस्तकहरू किन्ने सौख र पैसाका लागि कुनै बन्देज थिएन, जुन अहिलेसम्म पनि छ ।

 

जीवन यसो भइदिएको भए यसो हुन्थ्यो, अथवा अझ राम्रो हुने थियो भन्ने केही छ कि?

फ्रान्सका रव घ्रिलेइले एउटा लघु उपन्यास ‘द इरेजर’ लेखेका छन् । त्यसमा विषय छ, कुनै व्यक्तिले एउटा इरेजर (मेटाउने चिज) भेटेको छ र जसले आफ्नो इच्छाअनुसार भूतकाललाई मेटाउन सकिने हुन्छ । र, त्यसमा इच्छाअनुसार नयाँ इमेज उतार्न सकिने हुन्छ । ‘तिमीले आफ्नो विगतका कुनकुन कुरा मेटाउन सक्ने थियौ र त्यसको सट्टामा कस्तो चित्र अंकित गर्न सक्ने थियौ ?’ भनेर सोधिएको हुन्छ । अहँ, जति गर्दा पनि त्यस्तो मेटाउने कुरा पाईदैन र सकिंदैन । सम्झनुहोस्— मलाई मन नपरेकी केटीसँग बिहा गर्नुर्पयो, म त्यो मेटाउन चाहन्छु । तर मन नपरेकी उनीबाट मनपर्दा छोराछोरी जन्मेका होलान् । अब के गर्ने ? ती श्रीमतीलाई मेटाउने हो भने ती केटाकेटी पनि मेटिन्छन् जुन म चाहन्न । र, त्यस्तो ‘इरेजर’ कतै भेटिएमा पनि सबैको हालत यही हुन्छ, कतैकहीं केही मेटाउन वा थप्न नसकिने ‘कहालिलाग्दो’ अवस्था । यहाँ जन्मेको भए, त्यहाँ जन्मेको भए भन्ने कुरा पनि ‘इरेजर’ भेटिएजस्तै कुरा हो । हाम्रा जीवनका दु:खसुखहरू पनि त्यस्तै हुन् जसलाई कुनै ‘इरेजर’ले पनि मेट्न सकिन्न ।

 

तैपनि स्वैरकाल्पनिक बनेर जीवनमा अझ बढी सुख वा आनन्दका विकल्प रोज्नेबारे कहिल्यै सोचाइ भएन?

हेर्नुहोस्, आफ्नो सुख पनि आफूले चिनेको सुख हुन्छ । आफ्नो दु:ख पनि आफूले चिनेको दु:ख हुन्छ । र, अरूका सुखदु:खहरू त आफूले नचिनेका हुन्छन् । नचिनेका सुखदु:खभन्दा आफूले चिनेका सुखदु:खहरू नै सहन सकिने र प्यारा हुन्छन् । फेरि अर्को कुरा हामी आजकल कुनै कुरा पनि निश्चत भएर भन्न सक्दैनौं । हरेक कुरामा ‘खोइ होला’ भन्ने जवाफ मात्रै आउँछ । हाम्रो टाउकोमा ज्यादा ज्ञान पस्यो भने यो अवस्था आउँछ । ‘यो पनि जानेका छौं, त्यो पनि जानेका छौं’ भन्ने भ्रमले जानेका कुरासमेत नजानेको झैं अवस्था आएको छ । यो अति चेतनाले हामीलाई अझ दिग्भ्रमित बनाएको छ । निश्चितता पाउन छाडेपछिको अवस्था अझ कठिन बनेको छ ।

 

लेखनमा आइबी राई त अरूहरूका लागि अब एउटा विश्वासिलो ‘लेबल’ बनिसकेको छ भन्ने कत्तिको मान्नुहुन्छ ?

यही ‘लेबल’ले त सबै कुरा बिगार्छ नि ! हामी बजारमा केही चिज किन्न जान्छौं । मानौं, एउटा विदेशबाट आएको एउटा जुत्ता मन पऱ्यो । हाम्रो विवेकले भित्रबाट भन्छ— यो जुत्ताको मूल्य खासमा त ५ सय रुपैयाँ हुनुपर्छ । तर त्यसमा एउटा नामी कम्पनीको लेबल लागेको छ, त्यो देखेर हामी त्यही जुत्तालाई २ हजार रुपैयाँसमेत हाल्छौं । उत्तरआधुनिकताको यो दिनहुँको अनुभव र भोगाइ हो । एउटा ‘लेबल’ले हामी कसरी बहकिन्छौं, हामी कुनचाहिँ षड्यन्त्रमा छिरिरहेका छौं भन्ने यो खोजाइ पनि उत्तरआधुनिकता हो । जबकि त्यो ‘बहकाइ’ एउटा भ्रममात्रै हो । त्यो झुक्याइमा पश्चिमकाले भने खोज गरेका छन्, अब हामी भने झुक्कीमात्र रहेका छौ‌। उनीहरूले त्यही खोजबाट बनाएका छन्, ‘हाइपोरियल’ सिद्धान्त । तर हामी भने अझै ‘लेबल’मै दङ्गदास छौं ।

प्रतिकृया दिनुहोस

लीलामय जीवनको अन्त्य

  २६ फागुन,दार्जिलिङमा सम्मानपूर्वक लिइने नाम हो, आइबी सर । मंगलबार साँझ उनै आइबी अस्ताए, अर्थात उनको निधन भयो । खबर बिजुली बेगमा दार्जिलिङदेखि

राजधानीमा खुल्यो अर्को थियटर

काठमाडौं : भएका थियटर बन्द भइरहेको बेला राजधानीमा अर्को थियटर खुलेको छ। थापागाउँमा सञ्चालनमा आएको कुञ्ज नाटकघरको शताब्दी पुरुष सत्यमोहन जोशी र

मलाई मन पर्छ : सुनील थापा, अभिनेता

काठमाडौँ — ठाउँ : जोमसोम मन पर्छ । यो ठाउँ युनिक लाग्छ र स्वर्गको अनुभूति हुन्छ ।  परिकार जाउलो फेभरेट हो । त्योसँग गोलभेडाको अचार र दही मन पर्छ ।