स्कटल्यान्डसँग लगातार हार

काठमाडौँ — कप्तान पारस खड्काको अर्धशतकका बावजुद माथिल्लो क्रमका प्रमुख ब्याट्सम्यानले निराश पार्दा नेपाल बिहीबार विश्वकप छनोट क्रिकेटमा स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । त्यसविपरीत पहिलो तीन खेल जितेर स्कटल्यान्ड सुपर सिक्समा पुगेको छ । 

जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपाल पहिलो खेलमा घरेलु टोलीसँग १ सय १६ रनले पराजित भएको थियो । अफगानिस्तानलाई ३ विकेटले हराएको स्कटल्यान्डले मंगलबार दोस्रो खेलमा हङकङमाथि ४ विकेटले जित पाएको थियो ।

 

स्कटल्यान्डसँग नेपाल लगातार चौथो खेलमा पराजित भएको हो । पारसले ६३ रन बनाए पनि टस जितेको नेपाल बुलाबायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा ४७.४ ओभरमा १ सय ४९ रन बनाएर अलआउट भयो । केयल कोएट्जरले नटआउट ८८ रन बनाएपछि स्कटल्यान्डले ४२ औं ओभरमा १ सय ५३ रन बनाउँदै जित रच्यो ।

 

कोएट्जरले दीपेन्द्रसिंह ऐरीलाई विजयी छक्का प्रहार गरे । अघिल्लो ओभरमा उनले पारसको बलमा पनि छक्का हानेका थिए । १ सय ३७ बल खेलेका म्यान अफ द म्याच उनको इनिङ्स ७ चौका र ३ छक्का रह्यो । १० औं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका लेग स्पिनर सन्दीप लामिछानेले म्याथ्यु क्रसलाई १४ रनमा आउट गरी नेपाललाई पहिलो सफलता दिलाए। त्यतिखेर स्कटल्यान्डसँग ३३ रन थियो ।

 

कालुम म्याकलोइड १५ रन बनाई वसन्त रेग्मीको बलमा आउट भए । सन्दीपले अर्को ओभरमा रिची बेरिङटनलाई १ रनमा एलबीडब्लू आउट गरेपछि स्कटल्यान्ड २० औं ओभरमा ७२–३ को स्थितिमा पुग्यो । जर्ज मुन्सीलाई ललितनारायण राजवंशीले १० रनमै बोल्ड गरे । नेपालको झिनो आशा पलाएको अवस्थामा क्रेग वालेसले कोएट्जरसँग पाँचौं विकेटमा २८ रनको महत्त्वपूर्ण साझेदारी गरे । वालेसलाई १७ रनमा दीपेन्द्रले आउट गरे । मार्क वाट शून्यमा वसन्तको बलमा आउट भए पनि सुरुमा संयमित भएर खेलेका कोएट्जरले त्यसपछि आक्रामक खेल्दै साफयान सरिफसँग मिलेर स्कटल्यान्डलाई जिताए ।

अघिल्लो खेलमा जस्तै नेपालको सुरुआत राम्रो हुन सकेन । ओपनर ज्ञानेन्द्र मल्ल १ रनमै दोस्रो ओभरको पहिलो बलमा बोल्ड भए । अर्को ओभरमा आफूले सामना गरेको पहिलो बलमा चौका प्रहार गरेका दिलीप नाथ लगत्तै अर्को बलमा आउट भए । स्टुवार्ट हिवटिङहमले लगातार दुई विकेट लिने क्रममा दीपेन्द्रसिंह ऐरीलाई १ रनमा एलबीडब्लू र शरद भेषावकरलाई पहिलो बलमै बोल्ड गरे । आरिफ शेख पनि २ रनमा आउट भएपछि नेपाल ८ ओभरमा ३९–५ को स्थितिमा पुग्यो ।

 

पारसले रोहित पौडेलभन्दा माथि पठाइएका सोमपाल कामीसँग मिलेर नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरे । व्यक्तिगत ९ रन बनाएसँगै पारस नेपालबाट लिस्ट ‘ए’ मा एक हजार रन बनाउने पहिलो खेलाडी बने । उनी ४९ रनमा ब्याटिङ गरिरहेको अवस्थामा सोमपाल सिधा थ्रोमा रनआउट भए । सोमपालले १८ रन बनाए । कुल ७५ बल खेलेका पारसले १० चौका प्रहार गरे । रोहितले १५ र वसन्तले नटआउट २४ रन बनाउँदै नेपालको स्कोर हेर्नलायक बनाए । ५१ बल खेलेका वसन्तले १ चौका प्रहार गरे । सन्दीप ६ र ललितनारायण ४ रन बनाई एलास्डाइर इभान्सको बलमा आउट भए ।

 

नेपालले दुवै खेल जित्नैपर्ने

नेपालले सुपर लिगमा पुग्न शनिबार अफगानिस्तान र सोमबार हङकङसँग हुने दुवै खेल जित्नै पर्नेछ । हङकङले बुधबार समूह ‘बी’ को अर्को खेलमा अफगानिस्तानलाई ३० रनले हरायो । हङकङले शनिबार जिम्बावेसँग खेल्नेछ । हङकङले नेपालसँगको खेल जिते सुपर सिक्स पुग्नेछ । विश्वकप पुग्न दाबेदार मानिएको अफगानिस्तान लगातार तेस्रो खेलमा पराजित भएको छ ।

 

समूह ‘ए’ मा पनि अप्रत्यासित नतिजा आएको छ । यूएईले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरी ३ खेलमा दोस्रो जित हात पार्‍यो । वेस्ट इन्डिजले जेसन होल्डरको नटआउट ९९ रनमा पपुवा न्युगिनीलाई ६ विकेटले हरायो । वेस्ट इन्डिजले दुवै खेल जितेको छ ।

प्रतिकृया दिनुहोस

विश्वकप २०१८ : अर्जेटिना र आइसल्याण्डको खेल सुरु

काठमाडौं । रुसमा जारी  विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डको खेल सुरु भएको छ । अर्जेन्टिना र आइसल्याण्ड पहिलो पटक खेल्न लागेको हो ।सन् १९३० देखि नै

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

काठमाडौं - विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो

रोनाल्डोसहित पोर्चुगल टोली रुस पुग्यो

मस्को- विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन्। पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप