नेपाल–अफगानिस्तान: चिरप्रतिद्वन्द्वीसँग फेरि मौका

काठमाडौँ — नेपालले कठिन समीकरणबाट धेरैपल्ट उम्कँदै चाहेको नतिजा निकालेको छ । आयोजक जिम्बावे र स्कटल्यान्डसँग पहिलो दुई खेलमै पराजय भोगेपछि विश्वकप छनोट क्रिकेटमा नेपालसँग धेरै विकल्प बाँकी छैन । अफगानिस्तान र हङकङसँग बाँकी रहेको दुवै खेल जितेमात्र नेपाल सुपर लिग पुग्न सक्छ । सिधा समीकरण यहीमात्र हो ।

सुपर लिग पुगेमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउने र फोर–डे अन्तरमहादेशीय कपमा खेल्ने छ । अन्यथा प्ले(अफमा झर्दै नेपाल फेरि विश्व क्रिकेट लिगको डिभिजन २ मा पुग्नेछ । त्यसको अर्थ अफगानिस्तान र हङकङमध्ये एकसँग हारे पनि नेपाल रेलिगेसनमा पर्न सक्छ । शनिबार अफगानिस्तानविरुद्ध हुनेखेलअघि यो तथ्यसँग नेपाली टोली पूर्ण जानकार छ ।

 

नेपाल र अफगानिस्तान एसोसिएटका उत्कृष्ट चिरप्रतिद्वन्द्वी थिए । अफगानिस्तान सन् २०१५ को विश्वकपमा छनोट भएपछि नेपाललाई उसले धेरै पछाडि पार्‍यो । डिभिजन २ भन्दा माथि उठ्न नसकेपछि नेपाल स्वत: तल पर्‍यो ।

 

अफगानिस्तानले गत वर्ष टेस्ट मान्यता नै पायो । यसले अफगानिस्तान–नेपाल भिडन्त नै दुर्लभ बनाइदियो । गत महिना नेपाल डिभिजन २ को फाइनल पुगेसँगै विश्वकप छनोटमा अफगानिस्तानसँगको भेट फेरि सम्भवभएको हो ।

 

जिम्बावेसँग नेपालले आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा बढी ३ सय ८० रन खर्चेको थियो । नेपालले जवाफमा २ सय ६४ रन बनाउदै ब्याटिङमा केही आशा जगाएको थियो । स्कटल्यान्डसँग नेपालको माथिल्लोक्रमको ब्याटिङले निराश बनायो । नेपाल १ सय ४९ रनमै अलआउट भयो । अफगानिस्तानसँग नेपालले निकै सुधारिएको ब्याटिङ गर्न जरुरी छ ।

 

‘हामीले स्कटल्यान्डसँग जुन ब्याटिङ देखायौं त्यो भन्दा धेरै राम्रो ब्याटिङ गर्नुपर्नेछ । हामीले माथिल्लो स्तरको ब्याटिङ देखाउनुपर्छ,’ स्कटल्यान्डसँगको पराजयपछि नेपालका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग भनेका थिए । अफगानिस्तानको प्रदर्शन नेपालको भन्दा झन् दयनीय छ । पहिलो तीन खेल नै हारेपछि अफगानिस्तानको सुपर सिक्समा पुग्ने सम्भावना गणितीय हिसाबमा मात्र अल्झेको छ ।

 

‘अन्तिम दुई खेलअगाडि हामीसँग अझ खुला विकल्प छ । अफगानिस्तान निकै खराब हिसाबमा यो प्रतियोगितामा गुज्रिरहेको छ । दुवै टोलीलाई जित्नैपर्ने बाध्यता छ । अफगानसँगको खेल जित्न हामी आफ्नो सबै शक्ति लगाउने छौं,’ पारसले भने, ‘हामीले सबै क्षेत्रमा एकरुपमा प्रदर्शन गर्न जरुरी छ । त्यसो भएमा चाहेको नतिजानिकाल्न सक्छौं । अफगानसँगको खेलअगाडि मैले हाम्रो ब्याटिङ, बलिङ र फिल्डिङबाट यही आस गरेको छु ।’

 

अफगानिस्तान सन् २००४ मा मलेसियामा भएको एसीसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आएको थियो । त्यसको प्लेट फाइनलमा नेपालले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । त्यसपछि अफगानिस्तानसँग ५० ओभरको खेलमा लगातार ६ पराजय भोगेको छ । २०१४ को विश्व ट्वान्टी–२० मा भने नेपालले बंगलादेशमा अफगानिस्तानमाथि ९ रनको अविस्मरणीय विजय हात पारेको थियो ।

 

नियमित कप्तान अस्घर स्टानिकजाई र अर्का प्रमुख ब्याट्सम्यान मोहम्मद शेहजाद गुमाएपछि अफगानिस्तान गहिरो संकटमा छ । स्टानिकजाई अस्वस्थ भई प्रतियोगिताबाट बाहिरिए भने आचारसंहिता उल्लंघन गरेकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले दुई खेलको प्रतिबन्ध लगाउँदा शेहजादले नेपालसँगको खेल पनि गुमाउन लागेका हुन् ।

 

‘प्रतियोगिता सुरु हुनुअघि हामीले कप्तान गुमायौं र त्यसपछि आक्रामक ब्याट्सम्यान शेहजाद । सवै हाम्रो विपक्षमा गइरहेको छ,’ अफगानिस्तानका कप्तान रशिद खानले आईसीसीसँग भने । रशिदले ४ विकेट लिइसकेका छन् । उनले जिम्बावेविरुद्व ३ विकेट लिएका थिए । उनीसँगै अफ स्पिनर मुजिव उर रहमान नेपालका लागि प्रमुख चुनौती हुन सक्छन् । उनले ३ खेलमा ८ विकेट लिइसकेका छन् ।

 

अफगानिस्तान जुन हिसाबले खेलिरहेको छ । त्यस हिसाबमा रहमान ओपनिङ बलिङ आउन सक्छन् । उनले हङकङसँग दवलत जाद्रानसँगै नयाँ बल लिएर ३ विकेट लिएका थिए । ५ महिनाअघि मलेसियामै भएको एसीसी यू–१९ एसिया कपमा उनले नेपालसँग ६ विकेट लिएका थिए ।

 

अनिल शाहबाहेक अन्य सवै ब्याट्सम्यान उनको बलिङसामु घुँडा टेकेको थियो । जिम्बावे भ्रमणमा रहे पनि अनिलले मौका पाएका छैनन् । विकेटकिपर/ब्याट्सम्यान दिलीप नाथ लगातार रूपमा असफल हुनाले उनकालागि एउटा ढोका खुला हुनसक्छ । तर रहमानको बलिङशैलीलाई हेरेर देव्रेहाते ब्याटसम्यान भएकाले दिलीपले अर्को मौका फेरि पाउन सक्छन् ।

 

ब्याटिङबाट आफ्नो छुट्टै पहिचान बनाइरहेका तीव्र बलर करण केसी प्लेइङ ११ मा फर्कन सक्छन् । जिम्बावे र स्कटल्यान्ड स्पिन बलिङमा केही कमजोर रहेको तथ्यसाथ नेपालले करणको स्थानमा देव्रेहाते स्पिनर ललितनारायण राजवंशीलाई जिम्बावेसँगडेब्यू गर्ने मौका दिएको थियो । उनले दुवै खेलमा १–१ विकेट लिएर किफायती बलिङ गरे पनि अफगानिस्तानसँग करणले मौका पाउन सक्छन् ।

 

अफगान कप्तान रशिदको चिन्ता प्रतियोगितामा टोलीको प्रदर्शनलाई लिएर छ । ‘अफगानिस्तानले जसरी गएको २ वर्ष खेलेको छ त्यसअनुसार यस्तो प्रदर्शन अपेक्षा गरिएको थिएन । हामीले गैरजिम्मेवार क्रिकेट खेल्यौं, जुन आस गरिएको थिएन । तर क्रिकेटमा यस्तो हुन्छ । कहिलेकाहीँ चाहेजस्तो हुँदैन । कहिलेकाहीँ म्याच चाहे जसरी अगाडि बढ्दैन । कहिलेकाहीँ प्रतियोगिता आफूले चाहेको जस्तो हुँदैंन,’ उनले भने ।

 

नेपालसँग सन् २०१४ पछि ५० ओभरमा अफगानिस्तान पहिलो खेल खेल्दै छ । त्यसमा विजय हात पारेमा तथा हङकङ शनिबार नै हुने खेलमा जिम्बावेसँग पराजित भए आफ्नो टोलीको झिनो आशा उनले देखेका छन् । ‘हामीले नेपालको खेलबाट केही लिन सके र त्यसपछि हङकङ–नेपालको खेलमा केही भएमा जे पनि हुनसक्छ । तर हामीले जसरी पछिल्ला तीन खेल खेल्यौं त्यो अफगानिस्तानको असली खेल थिएन,’ रशिदले भने ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०७:२२

प्रतिकृया दिनुहोस

जर्मनीको जितमा सानेको गोल

एजेन्सी । लोरी सानेको गोलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्तर्गत बिहीबार राति रुसलाई ३–० ले पराजित गरेको छ ।  जर्मनीका प्रशिक्षक

आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं, बिहीबार – साफ यु–१५ च्याम्पियनसिप आज बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत

विराटले तोडे सचिनको १७ वर्ष पुरानो कीर्तिमान

१७ वर्षदेखि सचिन तेन्दुलकर नाममा रहँदै आएको कीर्तिमान भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले तोडेका छन्। कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी