‘सिरियामा ५ सयभन्दा बढी नेपाली युवती’

काठमाडौँ — द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवारिस छ ।

८ महिनाअघि पनि सिन्धुपाल्चोककी माया तामाङको सिरियामै मृत्यु भयो । दूतावासमा यसको सूचना आए पनि युद्धग्रस्त क्षेत्रबाट तामाङको शव नेपाल पठाउने व्यवस्था दूतावासले अझै मिलाउन सकेको छैन ।

***

पछिल्लो समय पञ्चमाया राई र दुर्गा विकले आफूहरू सिरियामा बन्धक बनाइएको भन्दै एजेन्टमार्फत दूतावासमा जानकारी पठाएपछि उनीहरूकोउद्धारको पहल सुरु भएको दूतावासले जनाएको छ ।

 

उल्लिखित ३ घटनाले पुष्टि गर्छ– द्वन्द्वग्रस्त सिरियामा थुप्रै संख्यामा नेपाली युवती कामको खोजीमा पुगेका छन् । उनीहरूको संख्या कति छ, कस्तो हालतमा छन् र के गरिरहेका छन् भन्ने विवरण भने कसैसँग छैन । द्वन्द्वका क्रममा हजारौं सिरियालीको मृत्यु भएको स्थितिमा त्यहाँ रहेका नेपालीको अवस्थाबारे सरकार बेखबर छ ।

 

तेजी र मायाको मृत्युको खबरपछि भने दूतावासले सम्पर्कसूत्रमार्फत सिरियामा रहेका नेपालीबारे खोजी सुरु गरिएको जनाएको छ ।

 

द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली रहेको जानकारी आएपछि थप बुझ्ने प्रयास भइरहेको इजिप्टस्थित राजदूत झविन्द्र अर्यालले कान्तिपुरलाई टेलिफोनमा जानकारी दिए । ‘त्यहाँ सम्पर्क व्यक्ति चयन गरी नेपालीहरूको संख्या यकिन गर्ने काम भइरहेको छ । कति छन् भन्ने सरकारलाई जानकारी छैन,’ उनले भने ।

 

सरकारले सिरिया वैध रूपमा जान प्रतिबन्ध लगाएको छ । ‘मानव तस्करहरूले अवैध रूपमा विभिन्न बहाना मिलाएर घरेलु कामदार सिरिया पुर्‍याउने गरेका छन्,’ राजदूत अर्यालले भने, ‘यसलाई रोक्न सरकारले थप प्रयास गर्नु आवश्यक छ ।’ सिरिया मात्र होइन, लेबनान र अन्य अफ्रिकी मुलुकमा समेत नेपाली युवतीहरू घरेलु कामदारका रूपमा पुर्‍याइएको उनले बताए । ‘घरेलु कामबाहेक अन्य क्षेत्रमा नेपाली छैनन्,’ उनले भने ।

 

सम्पर्कसूत्रमार्फत आएका सूचनाहरूका आधारमा दूतावासले त्यहाँ ५ सयभन्दा बढी नेपाली युवती घरेलु कामदारका रूपमा कार्यरत रहेको आकलन गरेको छ । मानव तस्करको प्रलोभनमा परेर सिरिया पुग्ने क्रम अझै नरोकिएको जानकारी दूतावासले परराष्ट्र मन्त्रालयलाई गराएको छ ।

 

सात वर्षदेखि चर्केको गृहयुद्धले सिरियाको जनजीवन तहसनहस छ । प्राकृतिक स्रोतको खानी रहेको उक्त मुलुकमाथि शक्तिराष्ट्रहरूको समेत चासो छ जसले द्वन्द्व झन्झन् चर्काउन सहयोग पुर्‍याइरहेको छ । त्यहाँ सन् २०११ मा लोकतन्त्र समर्थकहरूले संघर्ष थालेका थिए ।

 

इजिप्ट र ट्युनिसियामा लोकतन्त्र समर्थक आन्दोलनकारीले सत्तापलट गरेपछि त्यही ‘अरब स्प्रिङ’ आन्दोलन सिरिया पुगेको हो । सिरियाली शासक बसार अल असदलाई सत्ताच्युत गर्दै लोकतान्त्रिक सरकार बनाउन सुरु भएको आन्दोलनले गृहयुद्धको रूप लिएको छ । युद्ध रोकिएको छैन तर नेपाली त्यहाँ पुग्ने क्रम पनि रोकिएको छैन ।

 

सरकारविरोधी प्रदर्शनकारीलाई अमेरिका र केही युरोपेली मुलुकको समेत समर्थन रहेको बताइन्छ । खाडीकै सुन्नी बाहुल मुलुकको पनि आन्दोलनकारीलाई समर्थन छ । सिरियामा अल्पमतमा रहेका सिया समुदायका शासक असदको सरकारलाई सिया बहुलको समर्थन छ भने रुसले पनि असदलाई नै साथ दिइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

यसरी शक्तिसंघर्षको मारमा परिरहेका छन् सिरियाली । आन्तरिक द्वन्द्वमा वैदेशिक साथ र समर्थनले मुलुक दुई कित्तामा विभाजित हुँदा युद्ध हिंस्रक र अमानवीय बन्दै छ । असदले विपक्षीमाथि रासायनिक आक्रमणसमेत गरेको आरोप आन्दोलनकारीको छ ।

 

सूत्रका अनुसार अधिक द्वन्द्वग्रस्त क्षेत्रमा समेत नेपाली युवती घरायसी काममा कार्यरत छन् । उनीहरू नेपालमा सम्पर्कसमेत गर्न नसक्ने बन्दीको हालतमा रहेको जानकारी दूतावासले पाएको छ । ‘अधिकांश २० देखि ३० वर्ष उमेरका छन्, केही खाडी मुलुकबाट धेरै कमाउने लोभमा पुगेकाहरू अलि बढी उमेरका पनि छन्,’ सम्पर्कसूत्रले दूतावासलाई जानकारी दिएको छ ।

 

मानव तस्करहरूले नेपाली युवतीलाई दिल्ली, मुम्बई, दुबई, थाइल्यान्ड, मलेसिया, सिंगापुर हुँदै सिरिया पुर्‍याउने गरेको जनाइएको छ । कतिपयलाई भने दुबई पुर्‍याएर त्यहाँबाट गाडीमा विभिन्न स्थान हँुदै सिरिया पुर्‍याइएको जानकारी दूतावासलाई दिइएको छ ।

 

सिरियामा नेपालीहरूको औपचारिक सम्पर्कसूत्र नभएकाले खोजीमा समस्या भएको अर्यालले बताए । पछिल्लो समय सिरिया, लेबनानलगायत मुुलुक पुर्‍याएर घरमालिक वा कसैसँग विवाह गराउने र नेपालमा सम्पर्कसमेत गर्न नदिने, पारिश्रमिकसमेत नदिई शोषण गरिएको सूचनासमेत दूतावासमा आएको छ ।

 

सिरियाको गुटा क्षेत्रनजिक पनि नेपालीहरू रहेको अनुमान छ, जहाँ हिंसा तीव्र रूपमा जारी छ । गत सोमबार त्यहाँ पुगेका राष्ट्रसंघीय सहायताकर्मीसमेत सहायता वितरण रोकेर फर्केका थिए । त्यस क्षेत्रमा नेपाली रहेको जानकारी आएकाले ती निकायमार्फत निगरानी बढाउने पहल नेपालले गरिरहेको बताइएको छ ।

 

सिरियामा हिंसाको त्रास अझै रोकिएको छैन । न्यूनतम आवश्यकताको समेत अभाव भएर स्थानीय नागरिक नै मर्कामा रहेको अवस्थामा बाहिरी देशका नागरिक रोजगारीका लागि त्यहाँ पुग्नु आश्चर्यजनक छ । पछिल्लो समय रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री उपलब्ध गराउन नसकिएको राष्ट्रसंघले बताइरहेको छ ।

 

मानव अधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दसौं हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेको बताएकी थिइन् । पछिल्लो समय गुटामा १ सय ७० बालबालिकासहित ७ सय ६० सर्वसाधारण मारिएका सञ्चार माध्यमले जनाएका छन् । त्यहाँ नेपाली परे/नपरेको जानकारी पाउन सक्ने अवस्था नरहेको दूतावासका अधिकारीले बताए ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०६:५६

प्रतिकृया दिनुहोस

जिम्बाब्वेका राष्ट्रपतिद्वारा सपथ

हरारे  (बिबिसी) – जिम्बाब्वेका नव निर्वाचित राष्ट्रपति एमर्सन म्नागाग्वाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन्। अमेरिकी निर्वाचन

मोदीलाई अंकमाल गरेपछि चर्चामा राहुल

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अंकमाल गरेपछि उनको भारतीय

डा. केसीको पक्षमा पश्चिम अष्ट्रेलियामा प्रदर्शन

अष्ट्रेलिया — चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसरनरत प्रा.डा. गोविन्द केसीको मागलाई तत्काल पुरा गर्न तथा सरकारबाट भइरहेको हस्तक्षेप