• 19-Tuesday-2024
  • 08:56:18

लीलामय जीवनको अन्त्य

 

२६ फागुन,दार्जिलिङमा सम्मानपूर्वक लिइने नाम हो, आइबी सर । मंगलबार साँझ उनै आइबी अस्ताए, अर्थात उनको निधन भयो । खबर बिजुली बेगमा दार्जिलिङदेखि नेपालसम्म फैलियो । आइबी सरका उपन्यास र कथाका पात्रहरू धेरैका दिमागमा सल्बलाए । ताजा बनेर उभिए । तिनै आइबी सर अर्थात् साहित्यकार इन्द्रबहादुर राईलाई दिइएका श्रद्धाञ्जलीले मंगलबार साँझ केही समय फेसबुकको भित्तो नै ‘जाम’ भयो ।

काठमाडौंबाट लेखक तथा राजनीतिकर्मी आहुतिले फेसबुकमा लेखे, ‘राई नेपालका साहित्यकार, बौद्धिक र शासकहरूमाझ पनि चर्चित थिए, तर शोषित–शासित श्रमजीविको मुक्तिका सन्दर्भमा उनी कहिले पनि विषय, विचार र पात्रका रूपमा अगाडि आएनन् । गज्जब प्रतिभा, तर गलत विश्वदृष्टिकोणवाला लामो लस्करका एक यात्री– इन्द्रबहादुर राई ! उनीबाट शिल्प र प्रयोग सिकौँ तर, विचार हैन ।’

माक्र्सवादी लेखक आहुतिको पोस्टमाथि धेरै बहस भएको छ । त्यसो त इन्द्रबहादुर राई माक्र्सवादी लेखनको आलोचक थिए । उनी साहित्य प्रगतिशील र अप्रगतिशील हुन्छ भन्ने स्वीकार गर्दैन थिए । उनले विसं २०४० मा ‘साहित्यको अपहरणः माक्र्सवादी प्रतिबद्धता’ पुस्तक लेखे । जुन समालोचनात्मक पुस्तक हो, जसमा उनले साहित्यलाई कित्ताकाट गरेको भन्दै माक्र्सवादी लेखकको आलोचना गरेका छन् । त्यसपछि माक्र्सवादी लेखकहरूले पनि उनको आलोचना गर्न थाले । त्यसकै निरन्तरताको रूपमा आहुतिले फेसबुक स्टाटस लेखेको आख्यानकार कृष्ण धरावासीको भनाइ छ ।

राईले ‘साहित्यको अपहरणः माक्र्सवादी प्रतिबद्धता’ पुस्तकमा लेखेका थिए कि, ‘प्रगतिवादले उत्तरोत्तर प्रगति ग¥यो भने त्यो पार्टी कार्यालयमा छिर्छ, प्रगतिशीलले उत्तरोत्तर प्रगति ग¥यो भने जनताको जीवनस्तर अध्ययन गर्न पुग्छ ।’ माक्र्सवादी हुनु मात्र प्रगतिशील हुनु भनेर बुझियो भने भ्रम हुने उनको विचार थियो । तर, आफूले सो पुस्तकमा उठाएको मुद्दामा भने उनी लामो समय नअडिएको धरावासीको भनाइ छ ।
धरावासी भन्छन्, ‘एकपटक उनको सो पुस्तकबारे मैले सोधेको थिएँ, दार्जिलिङका कम्युनिस्ट भाइहरू एकदम उफ्रिने, गाली गर्ने, केही लेख्यो भने आलोचना गरिहाल्ने गर्न थालेपछि त्यो पुस्तक लेखेको बताउनुहुन्थ्यो, दार्जिलिङका लागि लेखेको कुरालाई अरूले आफ्नै ढंगले बुझ्दा आलोचना भएको भन्नुहुन्थ्यो ।’

त्यसो त दार्जिलिङमा उनको पुस्तकको कडा आलोचना भएको थियो । गुमानसिंह चाम्लिङ, गणेशलाल सुब्बा, बद्रीनारायण प्रधान, भीम योञ्जनलगायतले राईसँग गम्भीर विमति राखेका थिए । दार्जिलिङका युवा लेखकले पनि राईको आलोचना गर्ने गरेका छन् । ‘हस्तक्षेप’ आन्दोलन चलाइरहेका दार्जिलिङका युवाकवि राजा पुनियानी, मनोज बोगटीलगायत इन्द्रबहादुर राईको विचारको विपक्षमा छन् । तर, उनले साहित्यको एउटा युग हाँकेको यथार्थलाई भने स्विकार्नुपर्ने कवि राजा पुनियानीको भनाइ छ । उनको मृत्युसँगै एउटा युगको अन्त्य भएको उनले बताए ।

०००
राई दुई वर्षदेखि बिरामी थिए । उनका आँखा कमजोर बन्दै गएका थिए । भेट्न जानेसँग उनी लेख्न, पढ्न नसक्ने भएपछि सकस भएको सुनाउँथे । उनीसँग निकट साहित्यकार कृष्ण धरावासीका अनुसार पछिल्लो समय उनी अल्जाइमरबाट पीडित थिए, त्यसैले बिर्सिरहन्थे । कुरा गर्दागर्दै सिलसिला बीचैमा चुँडिन्थ्यो । अनि सम्झाउनुपथ्र्यो । गत वर्ष श्रीमतीको मृत्युपछि उनी भनै गहिरो शोकमा डुबे ।

साहित्यकार राई हरेक हिउँद श्रीमतीसँग सिलिगुढी झर्थे । छोरीको घरमा बसेर वर्षा लागेपछि फेरि दार्जिलिङ उक्लिन्थे । तर, श्रीमतीको मृत्युपछि यो हिउँद उनी सिलिगुढी झरेनन् । बाहिर पनि निस्किँदैन थिए । प्रायः दार्जिलिङको लोचनगरस्थित घरमै बसिरहन्थे । भेट्न आउनेसँग पनि धेरैबेर बोल्न नसक्ने बताउँथे ।

मंगलबार साँझ परिवारका सदस्यसँग उनी गफ गरेर बसेका थिए । बोल्दा–बोल्दै उनले छातीमा अप्ठ्यारो भएको बताए । परिवारका सदस्यले गाडीमा हालेर अस्पताल पु¥याए । तर, अस्पताल नपु¥याउँदै बाटोमै उनको निधन भइसकेको थियो ।

०००
राई ९० वर्षअघि दार्जिलिङमा जन्मिएका थिए । उनको पहिलो कथा संग्रह ‘विपना कतिपय’ विसं २०१८ मा प्रकाशित भएको थियो । त्यही साल उनको ईश्वर बल्लभ र वैरागी काइँलासँग भेट भयो । गणेशबहादुर प्रसाईंले तीनजनाको भेट गराइदिएका थिए । पछि प्रसाईं झापाको धुलाबारी आएर बसे । उनी लेखक थिएनन् । तर, इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वर बल्लभको बहसका एक्ला श्रोता भने थिए । तेस्रो आयाम सुरु नहुँदै राई, काइँला र बल्लभले फूल, पात, पत्कर नामको पत्रिका प्रकाशन गरे । तर, पत्रिका लामो समय प्रकाशन हुन सकेन ।

उनीहरू तीनैजना अंग्रेजी साहित्यका विद्यार्थी । टिएस इलियटले वेन जोन्सनबारे लेखेको विषयबाट वैरागी काइँला खुब प्रभावित भएछन् । उनले राई र बल्लभलाई सुनाए । त्यसपछि जन्मियो तेस्रो आयाम, अर्थात् साहित्यमा लम्बाइ, चौडाइ र मोटाइको खोजी सुरु भयो । लम्बाइ, चौडाइ र मोटाइको खोजीलाई नै उनीहरूले सम्पूर्णता भने । अर्थात् नेपाली साहित्यमा अस्तित्ववाद भिœयाउने आन्दोलन थियो– तेस्रो आयाम ।

तेस्रो आयाम आन्लदोलन हाँक्न २०२० सालमा त्यही नाममा पत्रिका प्रकाशन गरे । पत्रिका जेठ, असार र साउनमा नियमित प्रकाशन भयो । भदौ र असोज संयुक्त अंक आयो । त्यसपछि त्यो बन्द गरियो । तर, तेस्रो आयाम पत्रिकाले आफ्नो काम गरिसकेको थियो । पत्रिकाले नै तेस्रो आयामलाई संस्थागत र प्रचार ग¥यो ।

तेस्रो आयामको चर्चा भइरहँदा वैरागी काइँला र ईश्वर बल्लभ काठमाडौँ आए । इन्द्रबहादुर राई दार्जिलिङमै बसेर लेखिरहे । उनका आज रमीता छ, कथास्था, टिपेका टिप्पणीहरू, नेपाली उपन्यासका आधारहरू, सन्दर्भमा ईश्वर बल्लभका कवितालगायत आख्यान र समालोचनाका कृति प्रकाशित भए । उनको समालोचना कृति नेपाली उपन्यासका आधारहरूले सन् १९७५ मा भारतको ख्यातिप्राप्त ‘साहित्य अकादमी पुरस्कार’ पाएको थियो ।

विसं २०३४ सालमा भने उनले बाटो मोडे । काठमाडौंबाट प्रकाशित हुने रूपरेखा पत्रिकाको मंसिर अंकमा राईको ‘भ्रान्तिहरू र लीलालेखन मात्र’ लेख छापियो । यही लेखमार्फत उनी तेस्रो आयाम छाडेर लीलालेखनमा प्रवेश गरे । तेस्रो आयामले वकालत गरेको ‘संपूर्णता’ गलत रहेछ भन्ने बुझाइमा पुगेपछि उनी लीला लेखनमा लागेको साहित्यकार कृष्ण धरावासीको भनाइ छ । सत्य अन्तिम नहुने कुरालाई लीला लेखनले समातेको उनले बताए । लीला लेखनले गम्भीरतालाई अस्वीकार गर्छ । हरेक कुरा परिवर्तनशील हुने हुनाले अस्थिर कुरामा गम्भीर हुनु जरुरी छैन भनेर राईले वकालत थाले । दर्शनको सार यत्ति थियोः जीवनलीला अर्थात् खेल ।

उनको विचारलाई वैरागी काइँलाले सम्मान गरे । तर, उनी लीलालेखनमा लागेनन् । ईश्वर बल्लभले भने लीलालेखनलाई अस्वीकार नै गरे । उनले तेस्रो आयामलाई नै निरन्तरता दिए । यता राई भने १० वर्षसम्म लीलालेखनकै बारेमा लेख लेख्ने, भाषण गर्ने गरिरहे । नेपालबाट कृष्ण धरावासी, रत्नमणि नेपाल, कृष्ण बराल, विनय रावललगायतले कलम चलाउन थालेपछि भने लीलालेखन चर्चामा आयो ।

०००
इन्द्रबहादुर राईले चर्चा मात्र होइन, आलोचना पनि खेपे । राईको लीलालेखनलाई दर्शनको रूप दिने साहित्यकार कृष्ण धरावासीका अनुसार दार्जिलिङमा नै उनको विचारको तीव्र विरोध भयो । तेस्रो आयामभन्दा सबल लीलालेखनलाई बुझ्ने प्रयास कम भयो ।

तर, दार्जिलिङका कवि राजा पुनियानी भने तेस्रो आयामलाई नै ‘¥याडिकल’ मान्छन् । तेस्रो आयामले अघिल्लो पुस्तामाथि प्रश्न उठाएको थियो । निरन्तरतालाई भंग गरेको थियो । लीलालेखनले भ्रम मात्र छरेको पुनियानीको ठहर छ । ‘आइबी सरले माक्र्सिजम मानून् नमानून्, त्यसले सरोकार राख्दैन, कुनै लेखनले कति स्पष्ट दृष्टिकोण दियो भन्ने महत्वपूर्ण हो,’ उनी भन्छन्, ‘तेस्रो आयाम प्रोग्रेसिभ थियो, लीलालेखनले दिग्भ्रमित बनाएको छ, जसरी उनले अघिल्लो पुस्तालाई प्रश्न गरे त्यसरी नै अहिले हामी उनलाई प्रश्न गरिरहेका छौँ, यो स्वाभाविक हो र भोलि हामीमाथि पनि प्रश्न उठ्छ ।’ तर, नेपाली भाषाको साहित्यमा उनको योगदानको भने सधँै कदर हुने पुनियानी बताउँछन् । राई दार्जिलिङका शिखर पुरुष भएको प्रस्ट्याउँदै एउटा विकल्पहीन मान्छे बितेर जाँदा साहित्यमा उनको स्थान खाली भएको पुनियानीले बताए ।

कृष्ण धरावासी

एक वर्षअघि चैतमा लोचनगर दार्जिलिङमा अन्तिमपल्ट भेटेको थिएँ । उहाँको निधनको खबरले स्तब्ध भएको छु । विगत २७ वर्षदेखि लीलालेखनको अविराम यात्रामा हिँडिरहेको म अहिले एकाएक उभिएको छु । विसं १९८४ मेरा पिता र इन्द्रबहादुर राईको जन्म वर्ष हो । ४८ वर्षकै उमेरमा मेरा पिताको निधन भएपछि वैरागी काइँलाको संगत हुँदै म उहाँसम्म पुगेको थिएँ । उहाँको बौद्धिकताको लगामले डोहोरिँदै आजसम्म जहाँ आइपुगेको छु, यो मेरो सौभाग्य हो । मानस पिताका रूपमा उहाँ सधैँ मसँगै हुनुहुन्छ । इन्द्रबहादुर राई शरीरले मर्नुभयो अब युगौँ बाँच्नुहुनेछ, विचारले । यहाँको शरीरलाई हार्दिक श्रद्धाञ्जली ।

आहुति आहुति

खस नेपाली भाषी गज्जबका भारतीय साहित्यकार इन्द्रबहादुर राई आज अन्त्य भएछन् । शोकसन्तप्त सबैप्रति समवेदना र उनीप्रति श्रद्धाञ्जली ! राई नेपालका साहित्यकार, बौद्धिक र शासकहरूमाझ पनि चर्चित थिए, तर शोषित–शासित श्रमजीवीको मुक्तिका सन्दर्भमा उनी कहिले पनि विषय, विचार र पात्रका रूपमा अगाडि आएनन् । गज्जब प्रतिभा तर, गलत विश्वदृष्टिकोणवाला लामो लस्करका एक यात्री–इन्द्रबहादुर राई !

उनीबाट शिल्प र प्रयोग सिकौँ तर,
विचार हैन ।

राजन मुकारुङ

इन्द्रबहादुर राई दाजै, आखिर आउने ठाउँ त त्यतै हो । ढिलो–चाँडो न हो । तपाईंको भाइले नि पछ्याउँदै छ बाटो । हार्दिक श्रद्धाञ्जली !

दिनेश अधिकारी

नेपाली साहित्यका शिखर पुरुष दाइ इन्द्रबहादुर राई (आईबी राई)को दुःखद निधनको खबरले स्तब्ध
छु । दाइप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

सरस्वती प्रतीक्षा

इन्द्रबहादुर राईको अन्त्य भनेको कुनै एउटा साहित्यकारको अन्त्य होइन, एउटा साहित्यिक युगको अन्त्य हो । उनीप्रति भावपूर्ण श्रद्धाञ्जली ! उनी बाँचुन्जेल ‘साहित्यलाई बोझिल र अलोकप्रिय बनाएको’ आरोप लगाएर ‘साहित्यको आउटडेटेड भर्सन’ भन्दै तथानाम गाली गर्ने र खेदो खन्नेहरूले नै उनी बितेपछि उनीप्रतिको सम्मानमा फूलबुट्टा भर्दै फेसबुकमा घन्टाघन्टामा खण्डकाव्य नै पस्केको देख्दा दिगमिग लागेर आयो । यहाँ साँच्चै नै रमिता छ ।

प्रतिकृया दिनुहोस

इरेजरले जीवनका दु:ख–सुख मेट्न सकिन्न : इन्द्रबहादुर राई

काठमाडौँ — इन्द्रबहादुर राई नेपाली साहित्यमा वैचारिक उचाइ राख्ने सिद्धहस्त स्रष्टा हुन् । ‘आज रमिता छ’, ‘बिपना कतिपय’, ‘कठपुतलीको मन’,

राजधानीमा खुल्यो अर्को थियटर

काठमाडौं : भएका थियटर बन्द भइरहेको बेला राजधानीमा अर्को थियटर खुलेको छ। थापागाउँमा सञ्चालनमा आएको कुञ्ज नाटकघरको शताब्दी पुरुष सत्यमोहन जोशी र

मलाई मन पर्छ : सुनील थापा, अभिनेता

काठमाडौँ — ठाउँ : जोमसोम मन पर्छ । यो ठाउँ युनिक लाग्छ र स्वर्गको अनुभूति हुन्छ ।  परिकार जाउलो फेभरेट हो । त्योसँग गोलभेडाको अचार र दही मन पर्छ ।