कस्ती कन्या खोज्दै छन् मुख्यमन्त्री शेरधन राई ?

शेरधन राई कम उमेरमै महत्वपूर्ण जिम्मेवारी पाउने भाग्यमानी एमाले नेता मानिन्छन् । ०५६ मा भोजपुर–२ बाट निर्वाचित उनी कान्छो सांसदका रूपमा सिंहदरबार छिरे । दोस्रो संविधानसभा निर्वाचन भोजपुरबाटै जिते । र, सञ्चारमन्त्री पनि भए । गत मंसिरमा प्रदेश सभा सदस्यमा निर्वाचित उनले ३ फागुनदेखि प्रदेश १ को मुख्यमन्त्रीको कार्यभार सम्हालेका छन् । ४७ वर्षीय मुख्यमन्त्री राई अविवाहित छन् । राजनीतिक व्यस्तताका कारण विवाह गर्न ढिलाइ भएको बताउने उनी अब भने कन्याको खोजीमा छन् । चाँडै बिहे गरेर वृद्ध आमाबुवाको वर्षौंदेखिको धोको पूरा गर्ने उनको योजना छ । भावी जीवनसाथीको चित्र पनि उनले मनमा कोरिसकेका छन् । आफूले रोज्ने केटीको बानी, स्वभाव र बनावटबारे उनले नुनुता राईलाई बताएका छन् ।

लभलेटर थुप्रै आए,  कहिल्यै प्रेममा परिनँ
वास्तवमा म विद्यार्थीजीवनमा एकदमै चर्चित थिएँ । शारीरिक बनावटको पनि चर्चा हुन्थ्यो । मेरो व्यक्तित्वलाई हेरेर पनि गर्लफ्रेन्ड छ भन्ने शंका–उपशंका गरिन्थे । तर, जीवनमा कहिल्यै लभ परेन । विद्यार्थीजीवनमा खेल र पढाइमा मात्र ध्यान हुन्थ्यो । कलेजमा आएपछि राजनीतिमा लागेँ । पढाइ र राजनीतिपछि बचेको अतिरिक्त समय खेल क्षेत्रलाई दिने भएकाले प्रेम गर्नेमा ध्यान नै गएन । तर, चिठीहरू भने धेरै आउँथे । ती चिठीको जवाफ कहिल्यै दिइनँ । खेल, पढाइ र राजनीतिले गर्दा महिला साथीहरूसँगको संगत खासै भएन । कोहीप्रति पनि आकर्षित भएको याद छैन ।

१४ वर्षमै विवाह गर्न दबाब
स्वाभाविक रूपमा उमेर पुगेपछि घरपरिवार वा आफन्तबाट विवाह गर्न दबाब आउँछ । तर, मेरो सवालमा अलि चाँडैदेखि विवाह गर्नुपर्छ भन्ने दबाब आयो । १४ वर्षको हुँदा आमाबुवाले मेरो चिना देखाउनुभएछ । चिना हेर्ने मान्छेले ल अहिले विवाहको लगन छ, नत्र धेरै पछिसम्म हुँदैन भनेछ । त्यसपछि आमाबुवाले मेरो विवाह गर्ने तयारी गर्न थाल्नुभयो । म त्यसवेला नौ कक्षामा पढ्दै थिएँ । मैले तयारी देखेर थाहा पाएँ । अनि आमालाई ‘केको तयारी हो’ भनेर सोध्दा थाहा पाएँ । मैले ‘अहिले विवाह गर्दिनँ, पढ्छु’ भनेर जिद्दी गरेपछि विवाह रोकिएको थियो । त्यसपछि पनि उहाँहरूले विवाहका लागि दबाब दिइरहनुहुन्छ । तर, राजनीतिप्रतिको लगाव र जिम्मेवारीले अहिलेसम्म विवाह गर्ने फुर्सद मिलेको छैन ।
अब चाँडै विवाह गर्छु
अब चाँडै विवाह गर्ने सोच बनाएको छु । मुख्यमन्त्रीको जिम्मेवारी पाएको छु, अहिले जिम्मेवारीमा केन्द्रित छु । प्रदेशको विकास र समृद्धिलाई कसरी अगाडि बढाउने भनेर सबैसँग बसेर काम गरिरहेको छु । मुख्यमन्त्रीको रूपमा रहेर प्रदेशलाई समृद्धितर्फ उन्मुख गराएपछि जीवनको पाटोलाई पूरा गर्छु । ७० वर्षको हाराहारीमा रहनुभएका आमाबुवाको चाहना पनि पूरा गर्नु छ । एक्लो छोरा भएकाले छिट्टै विवाह गरोस् भन्ने आमाबुवाको चाहना र रहरलाई पूरा गर्नु मेरो जिम्मेवारी हो । यो जिम्मेवारीलाई १ वर्षभित्र पूरा गर्ने विचारमा छु ।

जीवनसाथी खोजिसकेको छैन
म आफैँले मुख्यमन्त्री भएपछि विवाह गर्छु भनेको थिएँ । मेरो योजना पनि यही हो । तर, मुख्यमन्त्री भएपछिका जिम्मेवारी व्यवस्थित गर्नु पनि जरुरी छ । त्यसलाई व्यवस्थापन गरेर विवाह गर्ने हो । र, विवाहका लागि जीवनसाथी पनि खोजिसकेको छैन । अब खोज्नेभन्दा पनि सल्लाह गर्ने भन्न रुचाउँछु । विवाह गर्न एकले अर्काको अस्तित्व स्वीकार गर्न जरुरी हुन्छ । त्यस्तो साथी भेटिएपछि विवाह गर्ने हो । कोमार्फत जीवनसाथी खोज्ने भन्ने पनि छैन । आफन्त अथवा साथीभाइको सहयोग त अवश्य पनि चाहिन्छ नै । जरुरी पनि छ । उहाँहरूको साथ सल्लाह र सहयोगमा भेटिएकीसँग एक–अर्काको समर्थनमा नै विवाह हुन्छ ।

सामान्य परिवारको मिहिनेती व्यक्ति
मेरो घर साबिक थिदिंखा–५ पसलभञ्ज्याङ भोजपुर हो । अहिले थिदिंखा आमचोक गाउँपालिका–३ नम्बर वडामा पर्छ । बुवा जागिरमान राई र आमा राम्रीमाया राईको छोराका रूपमा ११ फागुन ०२७ सालमा जन्मेको हुँ । सामान्य किसान परिवारमा जन्मेर गाउँकै शिक्षाज्योति निमाविमा प्राथमिक शिक्षा पढेपछि सगरमाथा उमावि घोरेटारबाट एसएलसी गरेको हुँ । विद्यालयमा छँदा म एकदम इमानदार र मिहिनेती विद्यार्थीका रूपमा परिचित थिएँ । भलिबल राम्रो खेल्थेँ । भलिबल राम्रो खेल्ने हेन्सम खेलाडी भनेर मेरो चर्चा हुन्थ्यो ।

राजनीतिमा नलागेको भए ब्रिटिस आर्मी
धेरैले ब्रिटिस आर्मी हुन लायकको ज्यान छ भन्ने गर्थे । राजनीतिमा नलागेको भए सम्भवतः ब्रिटिस आर्मी हुन्थेँ होला । आफन्तले ब्रिटिस आर्मी हुनुपर्छ भन्ने खालको प्रेरणा दिन्थे । ‘तेरो ज्यान लाउरे हुन लायकको छ, लाउरे हुनुपर्छ है’ भन्दै आफन्तबाट दबाब आउँथ्यो । तर, आमाबुवाको एक्लो छोरो भएकाले लाहुर लागेर जाओस् भन्ने उहाँहरूको मनसाय थिएन । मेरो माइला मामा ब्रिटिस आर्मी हुनुहुन्थ्यो । उहाँले त्यसवेला भलिबल ल्याइदिनुभएपछि भलिबलप्रतिको मोह अझै बढेकोे थियो । स्कुलमा भलिबल खेलले चर्चित थिएँ । सबैले चिन्थे ।

यसरी सुरु भयो राजनीतिक यात्रा
एसएलसी गरेपछि म जिल्लाकै भोजपुर बहुमुखी क्याम्पसमा भर्ना भएँ । क्याम्पसमा आएपछि खेलसँग बिस्तारै राजनीतिमा पनि लाग्न थालेँ । क्याम्पसमा भलिबल, टेबलटेनिस राम्रो खेल्थेँ । ०४६ सालमा भएको भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी भएको थिएँ । शालीन व्यवहार भएको व्यक्ति हुँ । सम्भवतः मेरो व्यवहारले रुष्ट भएका साथी छैनन् अहिलेसम्म । ०४४ सालदेखि नै अनेरास्ववियुमा क्रियाशील हुन थालेको थिएँ । त्यसपछि खेल, पढाइ र राजनीतिलाई समान रूपले अगाडि बढाउँदै लगेँ । त्यसवेलाको राजनीतिक जीवन एकदम अप्ठ्यारो थियो । कालो, कठोर पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा लागेको हुँ । एकदमै गाह्रो अवस्थामा राजनीतिमा होमिन पुगेको थिएँ । ०४४ देखि ०४६ चैत २६ सम्म ‘निछाक’ उपनामबाट राजनीतिमा सक्रिय रहेँ । मानविकी संकायबाट स्नातकसम्मको शिक्षा भोजपुर बहुमुखी क्याम्पसबाट लिएँ । यसबीचमा धेरै साथीसँग राजनीतिक सहकार्य गर्यौँ । त्यसयता मैले पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएको छु ।
०४७ मा एमालेको संगठित सदस्यता प्राप्त गरेँ । त्यसपछि ०४९ र ०५० मा अनेरास्ववियु भोजपुर जिल्ला अध्यक्ष भएर काम गरँे । ०४९ मा नै एमाले भोजपुरको जिल्ला कमिटी सदस्य भएको थिएँ । त्यसैगरी ०५० र ०५३ मा अनेरास्ववियुको केन्द्रीय सदस्य र पूर्वाञ्चल प्रमुखको जिम्मेवारी सम्हालेँ । ०५१ मा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य भएँ । ०५४ मा जिल्ला कमिटीको उपसचिव भएँ । पार्टी विभाजन भएर धेरै साथी मालेतिर लाग्नुभयो । त्यसपश्चात् सचिवको जिम्मेवारी पाएँ । मैले चार कार्यकाल एमालेको जिल्ला अध्यक्ष (०५४–०७०) को रूपमा आफ्नो भूमिका निर्वाह गरेँ ।

सबैभन्दा कम उमेरमा संसद् प्रवेश
०५६ मा आएर मेरो संसदीय यात्रा सुरु भयो । ०५६ को आमनिर्वाचनमा भोजपुर क्षेत्र नं. २ बाट विजयी भई सबैभन्दा कम उमेरमा प्रतिनिधिसभा सदस्य (कान्छो सांसद) बन्न सफल भएँ । ०७० वैशाख २७ गते एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएँ । दोस्रो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर २ बाट पुनः निर्वाचित भएको थिएँ । ०७२ कात्तिक १९ मा सूचना तथा सञ्चारमन्त्री भएँ । सञ्चारमन्त्रीको भूमिकापछि २० महिनापछि प्रदेश १ को मुख्यमन्त्री भएको छु । त्यस्तै, ०७१ मा एमाले केन्द्रीय सदस्यमा निर्वाचित भई हाल वैकल्पिक पोलिटब्युरो सदस्य एवं प्रदेश नं. १ सहइन्चार्जको रूपमा रहेको छु ।
जनतालाई धोका दिन्नँ
मैले पाटन क्याम्पस ललितपुरबाट समाजशास्त्रमा स्नातकोत्तर गरेको छु । राजनीतिक व्यस्तताका कारण नियमित क्याम्पस जान नसकेपछि स्वअध्ययन गरेर नै पास गर्न सफल भएँ । यसरी मेरो विद्यार्थीजीवन फर्केर हेर्दा एकदम फलदायी नै रह्यो भन्ने लाग्छ । राजनीतिकजीवन अवश्य पनि सहज थिएन । विभिन्न बाधा–अवरोधहरू आए । तर, म कत्ति पनि विचलित नभई समस्याको निकास खोज्दै यहाँसम्म आउन सफल भएको छु । त्यो मैले देश र जनताका लागि गरेको प्रण हो । मेरो पढाइ, खेल र राजनीतिलाई केही समयसम्म मिलाएर नै अगाडि बढाएको थिएँ । केही समयपछि राजनीतिक जिम्मेवारीहरू बढ्दै गएपछि खेलजीवनलाई विश्राम लगाएँ । तर, मलाई दुःख लागेको छैन । एक व्यक्तिले धेरै इच्छा र चाहनालाई सँगै अगाडि बढाउन सक्दैन । राजनीतिमा लागेकाले जनता र समाजका लागि काम गर्ने उद्देश्य लिएर हिँडेको व्यक्तिले अतिरिक्त काममा कमै समय दिन पाइन्छ ।
जन्मेपछि आफ्ना लागि मात्र नभएर देश, जनता र समाजका लागि केही काम गर्नुपर्छ भन्ने दृढसंकल्पले आज यहाँ छु । मैले गरेको संकल्पलाई जनताले विश्वास गरेर जिताउनुभयो, यसप्रति आभारी छु । जनताले मलाई गर्नुभएको विश्वास र साथलाई धोका दिनेछैन । उहाँहरूको विश्वासलाई व्यवहारमा देखाउन लागिरहेको छु ।

जनताको विश्वासलाई मर्न दिन्नँ
चर्चित एमाले युवानेता शेरधन राईले भर्खरै मात्र प्रदेश १ को मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनी विद्यार्थी जीवनदेखि निरन्तर एमाले राजनीतिमा सक्रिय छन् । शालीन र इमानदार राजनीतिज्ञका रूपमा परिचित छन् । भोजपुरको विकट गाउँको सामान्य परिवारमा जन्मेका राईको राजनीतिक चढाव तीव्र गतिमा भयो । पृष्ठभूमिका आधारमा पनि उनी आफूलाई सफल व्यक्तिका रूपमा लिन्छन् । भन्छन्, ‘मैले सानै उमेरदेखि राजनीतिक रूपमा महत्वपूर्ण जिम्मेवारीहरू पाउँदै आएको छु । जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्दै आएको छु । यस अर्थमा सफल व्यक्ति हुँ भन्ने लाग्छ ।’ पार्टीले समेत आफ्नो योगदानको कदर गरेकामा राई खुसी छन् । ४७ वर्षीय राई हालसम्म अविवाहित छन् । उनको विवाहको विषयमा वेला–वेला चर्चा भइरहन्छ । केही समयअघि मात्र ‘मुख्यमन्त्री भएपछि विवाह गर्छु’ भनेर अन्तर्वार्ता दिएपछि अहिले उनले कहिले विवाह गर्छन् भन्ने चासोको विषय बनेको छ ।

मेरो जीवनसाथीमा हुनुपर्ने गुण राजनीति बुझेको 
आज म जे छु त्यो सबै राजनीतिले गर्दा छु । त्यसैले मैले बिहे गर्ने महिलाले राजनीति बुझेको हुनुपर्छ । मेरो पेसाप्रति जानकार भएको हुनुपर्छ । मेरो जीवन राजनीतिप्रति समर्पित भएको हुँदा मेरो क्षेत्रलाई सम्मान गर्ने हुनुपर्छ । अहिलेको राजनीतिक गतिशीलता, सामाजिक विविधतालाई बुझेको हुनुपर्छ । आफू बसेको समाज बुझेर त्यहीअनुसार आफूलाई परिवर्तन गर्न सक्ने हुनुपर्छ ।

गल्ती सुधार्ने तत्परता भएको
विवाह भनेको सम्झौता पनि हो, त्यसैले एकदम व्यावहारिक हुनुपर्छ । जीवनलाई अगाडि बढाउन एक–अर्काको चाहना बुझ्ने र सम्झौता गर्न सक्ने हुनुपर्छ । मेरो बुझाइमा दाम्पत्य जीवन सफल बनाउन एक–अर्कामा इमानदार र समर्पित हुनुपर्छ । जीवनलाई सहज बनाउने खुबी भएको हुनुपर्छ । सबैबाट गल्ती हुन्छ, गल्ती गरिसकेपछि त्यसलाई स्वीकार गर्ने र सुधार गर्ने तत्परता हुनुपर्छ । मेरो भावना बुझ्ने र सम्मान गर्ने हुनुपर्छ ।

फरक विचारको पनि चल्छ 
म कम्युनिस्ट विचार भएको भनेर सर्वविदितै छ । तर, कम्युनिस्ट भएपछि मैले विवाह गर्ने महिला मेरै विचारधारा भएको हुनुपर्छ भन्ने छैन । जुनसुकै विचार भएको हुन सक्छ । तर, त्यो फरक विचार जीवन चलाउने शैली र घरायसी व्यावहारिकतामा फरक हुन भएन । भए पनि सम्झौता गर्न सक्ने हुनुपर्छ । कहिले मबाट सम्झौता होला त कहिले उनीबाट । म आफ्नो विचार र सिद्धान्तशैलीले समाज र जोकोही व्यक्तिलाई सकारात्मक प्रभाव पार्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । त्यसैले मैले रोज्ने महिला फरक राजनीतिक विचारधारा भएको पनि हुन सक्छ ।
केटी त जात मिल्ने नै चाहिन्छ
म आफू कम्युनिस्ट विचारधारा भएको व्यक्ति हुँ । त्यसैले गर्दा पनि जात, धर्मलाई आधार बनाएर विवाह गर्ने सोच पटक्कै छैन । तर, म आमाबुवाको एक्लो छोरा भएकाले अन्तर्जातीय विवाह उहाँहरूलाई स्विकार्य छैन । उहाँहरूको चाहना मैले विवाह गर्नु मात्र होइन, आफ्नै जातको बुहारी भित्रयाउने पनि हो । अब मैले अन्य जातको विवाह गरेर उहाँहरूलाई कन्भिन्स गर्ने समय छैन । त्यसप्रति पनि म सचेत हुनुपर्छ । म राई हुँ । हाम्रो किराती संस्कारमा अन्तर्जातीय विवाह गर्दा कुलमा गइँदैन । हाम्रो राईहरूको तीन चुला हुन्छ (जसलाई थरअनुसार नाम दिइन्छ) । बुहारी भित्रयाउँदा तीन चुलामा लगाइन्छ । त्यसपछि मात्र घरको सदस्यका रूपमा मान्यता दिइन्छ । त्यसैले मैले आमाबुवाका लागि जातभित्रकी बुहारी भित्रयाउनुपर्ने बाध्यता छ । उहाँहरूको चुलामा पस्ने बुहारी ल्यायोस् भन्ने भित्री चाहना छ । उहाँहरूको इच्छा, चाहना पूरा गर्ने मेरो कर्तव्य ठानेर चुलामा भित्रयाउन मिल्ने नै विवाह गर्छु । राई र लिम्बूमध्येमा जुन पनि थर भएको हुन सक्छ ।

कम पढेको भए पनि स्मार्ट होस्
मैले विवाह गर्ने महिला यति नै र यही विषय पढेको हुनुपर्छ भन्ने छैन । जुनसुकै विषय वा सामान्य पढेको पनि हुन सक्छ । सामान्य पढेको भए पनि समय र परिस्थितिलाई बुझेर सम्हाल्न र चल्न सक्ने हुनुपर्छ । पढाइ महत्वपूर्ण हो, तर धेरै पढेका मात्रै क्षमतावान् र स्मार्ट हुन्छन् भन्ने मलाई लाग्दैन । आदर, सम्मान, माया गर्न जान्ने हुनुपर्छ ।

आधुनिक समाज बुझेको र परम्पराको ख्याल गर्ने हुनुपर्छ
समय एकदमै गतिशील छ भन्ने चेत भएको हुनुपर्छ । आधुनिक समाज बुझेको हुनुपर्छ । परम्परागत कुराको ख्याल गर्ने पनि हुनुपर्छ । स्थान र परिस्थितिलाई ध्यान दिएर आफूलाई प्रस्तुुत गर्न सक्नुपर्छ ।

पहिरनमा समाजको ख्याल गरोस्
पहिरनप्रति मेरो त्यस्तो केही बाध्यता हुन्न । आजभोलि जोकोही फेसन कन्सस भएका हुन्छन् । कस्तो ठाउँमा, कस्तो पहिरन लगाउने भन्ने चेत भएका हुन्छन् । सर्ट, पाइन्ट वा साडी नै लगाउनुपर्छ भन्दिनँ । आफूलाई सहज हुने पहिरन लगाउँदा मलाई फरक पर्दैन । पहिरन लगाउँदा समाजलाई ख्याल गर्ने हुनुपर्छ ।

कालो–गारो जस्तो भए पनि व्यवहार राम्रो
मलाई मान्छेको शारीरिक बनावटले फरक पार्दैन । व्यवहार राम्रो हुनुपर्छ । शारीरिक बनावटले मान्छेको व्यक्तित्व जज गर्न मिल्दैन । म त्यो गर्दिनँ पनि । मोटो वा दुब्लो जस्तो पनि हुन सक्छ । अथवा कालो, गोरोजस्ता कुरा पनि गौण विषय हुन् । मुख्य त व्यवहार नै हो ।

हाइट जोडी मिल्ने होस् 
सबै मान्छे आफ्नै ठाउँमा सुन्दर हुन्छन् । त्यसलाई झनै सुन्दर बनाउने भनेको मानवीय व्यवहारले हो । त्यसमा पनि झन् नारीलाई त सुन्दरताको प्रतीक नै मानिन्छ । त्यसैले यस्तो वा उस्तोभन्दा पनि देख्दा कस्तो मिलेको जोडी हो भन्ने सबैलाई भान होस् । हाइटको कुरा गर्नुपर्दा ठिक्कको होस् । सबैले जोडी मिलेको छ भन्नेसम्मको होस् भन्ने लाग्छ ।

प्रतिकृया दिनुहोस

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग

कवियित्री एवं गीतकार मिरा न्यौपाने गजुरेल को पहिलो कबिता संग्रह "याद हरु" एक भब्य कार्यक्रम का बीच लोकार्पण

राग रागिनी entertainment प्रा.लि. को प्रकाशनमा कवयत्री मिरा गजुरेल को कबिता संग्रह "याद हरु" को एक भब्य कार्यक्रम का बीच लोकार्पण सम्पन्न भएको छ । कार्यक्रम

‘कायरा’ भोलिदेखि हलमा

चितवन — आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार नारायणगढमा थिए । शुक्रबार रिलिज हुन लागेको ‘कायरा’ का नायक–नायिका यो फिल्म मन