७० प्रतिशत संस्थान नाफामा

काठमाडौँ — आर्थिक वर्षमा २०७३/७४ मा करिब ७० प्रतिशत सार्वजनिक संस्थानहरू नाफामा गएका छन् । अर्थ मन्त्रालयका अनुसार सञ्चालनमा रहेका ३७ संस्थानमध्ये २६ वटा नाफामा गएका हुन् ।

मन्त्रालयमा आइतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा ११ वटा संस्थान भने नोक्सानमा रहेको उल्लेख छ । ०७२/७३ मा ३५ संस्थानमध्ये २३ वटा संस्थान नाफामा थिए । अघिल्लो वर्षको तुलनामा नाफामा जाने संस्थानको सख्या बढे पनि सर्वेक्षणले सन्तोषजनक नभएको उल्लेख गरेको छ । ‘३७ संस्थानमध्ये २६ वटा नाफामा गए पनि सार्वजनिक संस्थानको समग्र कार्यसम्पादन अपेक्षाकृत रूपमा सन्तोषजनक देखिएको छैन,’ आर्थिक सर्वेक्षणमा भनिएको छ । यी संस्थानबाट ४२ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा भएको छ । २०७२/७३ मा खुद नाफा ३४ अर्ब ९६ करोड ९ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नाफाले उच्च योगदान गरेको हो । मोबाइल प्रयोगकर्ता, इन्टरनेट प्रयोगकर्ताको वृद्धि र आन्तरिक नीतिमा सुधारका कारण दूरसञ्चारको नाफा बढेको जानकारहरू बताउँछन् । समीक्षाअनुसार दूरसञ्चारको नाफा १५.८३ प्रतिशतले बढेर १५ अर्ब ३७ करोड २८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष दूरसञ्चारको नाफा १३ अर्ब २७ करोड रुपैयाँ थियो ।

सर्वेक्षणअनुसार आयल निगम, नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नागरिक उड्डयन प्राधिकरण, हेटौंडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट, नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोरखापत्र संस्थान, राष्ट्रिय बिमा कम्पनीलगायत संस्थानहरूको नाफा ह्वात्तै बढेको छ ।

आयल निगमको नाफा १० अर्ब ४१ करोड १४ लाख छ । २०७२/७३ को तुलनामा ४६.२२ प्रतिशतले कम हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमिक रूपमा बढेपछि निगमको नाफा पनि घटेको हो । सर्वेक्षणअनुसार ०७२/७३ मा निगमको नाफा १९ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ थियो । नेपाल बैंकको नाफा ८.५ प्रतिशतले बढेर ३ अर्ब ११ करोड ७९ लाख रुपैयाँ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा १७.८८ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ पुगेको छ । कृषि विकास बैंकको नाफा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

सर्वेक्षणअनुसार उदयपुर सिमेन्ट, नेसनल ट्रेडिङ, नेपाल खाद्य संस्थान, नेपाल विद्युत् प्राधिकरण नोक्सानमा थिए । यी कम्पनीलाई २०७३/७४ मा नाफा देखाइएको छ । समीक्षाअनुसार १ अर्ब ९ करोड २५ लाख नोक्सानमा गएको उदयपुरले ३ करोड ७७ लाख नाफा गरेको छ । २ करोड ६२ लाख रुपैयाँ नोक्सान भएको खाद्य संस्थानमा ६ करोड ४२ लाख नाफा भएको समीक्षामा उल्लेख छ । विद्युत् प्राधिकरणको नाफा पनि उल्लेख्य रूपमा बढेको छ । समीक्षाअनुसार ८ अर्ब ९० करोड ३२ लाख घाटामा रहेको प्राधिकरणको नाफा १ अर्ब ५१ करोड २२ लाख रुपैयाँ पुगेको छ । सर्वेक्षणअनुसार नोक्सानमा जाने संस्थानमा दुग्ध विकास संस्थान, टिम्बर कर्पोरेसन, नेपाल खानेपानी, विद्युत् उत्पादन कम्पनीलगायत छन् ।

सर्वेक्षणअनुसार २०७२/७३ मा दुग्ध विकास संस्थान १५ करोड ७४ लाख खुद नाफामा थियो । तर, २०७३/७४ मा २१ करोड ३९ लाख नोक्सानमा गएको छ । दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक ईश्वरीराज न्यौपानेले घाटा कारोबारबाट नभएको दाबी गरे । ‘कर्मचारीको तलब बढेपछि उपदान दायित्वबाट रकम खर्च भएको छ । जसले गर्दा दुग्ध विकास संस्थान घाटामा गएको हो,’ उनले भने, ‘कारोबारकै कारण घाटामा गएका छैनौं ।’

यीबाहेक ४ करोड २ लाख नाफामा रहेको टिम्बर कर्पोरेसन २०७३/७४ मा १ करोड ८८ लाख नोक्सानमा गएको छ । ४ करोड ३४ लाख नाफा रहेको नेपाल खानेपानीको घाटा २० करोड ७९ लाख रुपैयाँ पुगेको समीक्षामा उल्लेख छ । विद्युत् उत्पादन कम्पनीको नोक्सान ३ करोड २३ लाख रुपैयाँ पुगेको उल्लेख छ ।

‘व्यवस्थापनमा स्वायत्तताको कमी एवं उत्तरदायित्व प्रणाली प्रभावकारी नहुनु आदि कारणले संस्थानको कार्यसम्पादन अपेक्षित रूपमा प्रभावकारी हुन सकेको छैन,’ अर्थमन्त्री युवराज खतिवडाले भने, ‘व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्दै व्यवस्थापकीय र वित्तीय कार्यकुशलता अभिवृद्धि गर्न विगतका सुधारका प्रयासहरू प्रभावकारी नदेखिएको हुँदा संस्थान प्रणालीगत र संरचनागत सुधार गर्दै एकीकृत ढाँचाको संस्थान सञ्चालनसम्बन्धी नीतिगत र कानुनी व्यवस्था गर्न आवश्यक देखिएको छ ।’ व्यवस्थापकीय स्वायत्तत्ता, नियन्त्रण र उत्तरदायित्यबीच उचित सन्तुलन ल्याउन र संघीय शासन प्रणालीबमोजिम संस्थानको पुन:संरचना गर्न पनि उत्तिकै आवश्यक देखिएको बताए ।

४० मध्ये २१ संस्थानमा नेपाल सरकारको पूर्ण स्वामित्व र बाँकी १९ संस्थानमा अधिकांश स्वामित्व छ । यीमध्ये ३७ संस्थान मात्र व्यावसायिक क्रियाकलापमा संलग्न छन् ।

सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संस्थानको सञ्चालन आय २०७२/७३ को तुलनामा ३३.९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । सरकारले संस्थानको कार्य प्रकृतिको आधारमा औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनउपयोगी र वित्तीय क्षेत्र गरी ६ भागमा विभाजन गरेको छ । औद्योगिक क्षेत्रअन्तर्गत दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, हेटांैडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल औषधि, उदयपुर सिमेन्ट र नेपाल ओरिन्ड म्याग्नेसाइट गरी ७ वटा छन् ।

औद्योगिक संस्थानको खुद नोक्सान ३१ करोड ८ लाख छ । २०७२/७३ मा १५ करोड ८८ लाख नाफा थियो । व्यापारिक क्षेत्रका संस्थानहरूको खुद नाफा १२ अर्ब ६ करोड ४७ लाख रुपैयाँ छ । २०७२/७३ मा १९ अर्ब २४ करोड ७० लाख पुगेको थियो । सर्वेक्षणअनुसार व्यापारिक क्षेत्रमा कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय बीउबीजन कम्पनी, नेसनल ट्रेडिङ लिमिटेड, आयल निगम, खाद्य संस्थान र दि टिम्बर कर्पोरेसन अफ नेपाल छन् ।

सेवा क्षेत्रका संस्थानको खुद नाफामा भने बढेको छ । सर्वेक्षणअनुसार नाफा बढेर १ अर्ब ७३ करोड २३ लाख रुपैयाँ पुगेको छ । २०७२/७३ मा नाफा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ थियो । सेवा क्षेत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारवाहन तथा गोदाम व्यवस्था कं.लि, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र छन् ।

सामाजिक क्षेत्रका संस्थानको कुल सञ्चित नोक्सानी ३ अर्ब ७२ करोड २३ लाख रुपैयाँ पुगेको छ । सर्वेक्षणअनुसार गोरखापत्र संस्थानबाहेक सबै सार्वजनिक संस्थानहरू खुद नोक्सानमा रहेका छन् । यस क्षेत्रमा सांस्कृतिक संस्थान, गोरखापत्र, जनक शिक्षा सामग्री केन्द्र, नेपाल टेलिभिजन र राष्ट्रिय आवास कम्पनीहरू छन् । जनउपयोगी क्षेत्रका संस्थानहरूको नाफा २८५.६ प्रतिशतले बढेको छ । सर्वेक्षणअनुसार २०७२/७३ मा खुद नाफा ४ अर्ब ३२ करोड ३९ लाख थियो । २०७३/७४ मा बढेर १६ अर्ब ६४ करोड ९५ लाख रुपैयाँमा पुगेको छ । यसअन्तर्गत नेपाल दूरसञ्चार कम्पनी, नेपाल विद्युत् प्राधिकरण, नेपाल खानेपानी, विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी छन् । वित्तीय क्षेत्रतर्फ १० संस्थानहरू छन् । वित्तीय क्षेत्रका संस्थानहरूको खुद नाफा ११ अर्ब ६६ करोड ४३ लाख रुपैयाँ पुगेको जनाइएको छ ।

राजस्वमा योगदान
आर्थिक वर्ष २०७३/७४ मा सार्वजनिक संस्थानले विभिन्न शीर्षकबाट ५८ अर्ब ७४ करोड ४९ लाख राज्य कोषमा दाखिला गरेका छन् । यसमा भन्सार महसुल एवं स्थानीय सडक कर तथा दस्तुरबापतको अंश ४२.५ प्रतिशत र आयकरको अंश २४.२ प्रतिशत छ । सरकारको कुल राजस्व संकलन ६ खर्ब ९ अर्ब १८ करोडमा संस्थानको योगदान ९.७ प्रतिशत रहेको छ । उक्त आर्थिक वर्षमा कुल गैरकर राजस्व ६१ अर्ब ६९ करोडमा संस्थानले १६.१ प्रतिशत योगदान पुर्‍याएको जनाइएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७५ ०८:३०

प्रतिकृया दिनुहोस

१ रुपैयाँमा नै भीभो ब्राण्डका स्मार्टफोन किन्न पाईने, थप १ वर्षको वारेन्टी उपलब्ध

१ रूपैयाँमा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ

पेट्रोलियम आयात खर्च : ५ वर्षमा साढे ५ खर्ब बाहिरियो

काठमाडौँ — इन्धन खरिदमा पाच वर्षमा साढे ५ खर्ब रुपैयाँ बाहिरिएको छ । सवारी साधन संख्यामा वृद्धि, पुनर्निर्माण र औद्योगिक क्षेत्रभित्र खपत बढेसँगै

कारोबार सवा ३१ प्रतिशतले घट्यो

काठमाडौँ — यो साता सेयर कारोबार सवा ३१ प्रतिशतले घटयो । अघिल्लो साता करिब सवा ३२ प्रतिशतले घटेको कारोबार रकम यो साता ३१.३२ प्रतिशतले घटेको हो । करिब